सुरुङमार्ग पुनर्निर्माणले गति लिएन

हेटौंडा/हेटौंडा–१५ स्थित चुरियामाईमा १ सय ५ वर्षअघि निर्माण गरिएको दक्षिण एसियाकै पहिलो मानव निर्मित सुरुङमार्गको पुनर्निर्माणले गति लिन सकेको छैन् । बागमती प्रदेश सरकारले एक वर्षअघि सुरुङमार्गको पुनर्निर्माणको काम अघि बढाएपनि काम सुस्त हुँदा अलपत्र बनेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७९ बैशाखसम्म सुरुङमार्गको पुनर्निर्माण सकाउने भनेपनि अझै ५० प्रतिशत पनि काम हुन सकेको छैन । तोकिएको समयमा पुनर्निर्माण नसकिएपछि तीन महिना समय थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका इन्जिनियर विजय केसीले ठूलो पहाडको ढिस्को खनेर पन्छाउने काम सकिएको र पुनर्निर्माण थपिएको समयमै हुने दाबी गरे ।

निर्देशनालयका इन्जिनियर केसीका अनुसार सहज आवतजावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २ सय १५ मिटर हुनेछ । ‘सुरुङ ऐतिहासिक झल्कने गरी पुरानै स्वरुपमा बनाइनेछ । पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ, त्यसकारण त्यसअनुसार बनाउन मिल्ने अवस्थासम्म निर्माण हुनेछ ।’ पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ । निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँ लागतमा माउण्टेन इन्फ्रालाई पुनर्निर्माणको ठेक्का दिएको हो ।

करिब ५ सय मिटर रहेको यो सुरुङको उत्तरतर्फको भाग पुरिएपछि करिब २ सय ८० मिटर दक्षिणतर्फ मात्र सुरुङमार्ग देखिन्थ्यो । मकवानपुर–बारा जोड्ने सुरुङमार्ग क्षेत्रमा चुरेको उकालो भएकोले सवारीसाधन आवतजावतमा सहज हुने उद्देश्यले १ सय ५ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो ।

विसं १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसँग जोड्ने सडक बनाउँदाताका तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको जानकारहरुको भनाइ छ । दक्षिण एशियाकै पहिलो मानवनिर्मित चुरियामाई सुरुङ तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइनमा नेपाली प्रविधि प्रयोग गरेर खनिएको थियो । त्यसबेला सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर र उचाइ ३ मिटर ३० सेन्टिमिटर थियो । मकवानपुर र बारा जोड्न १९७४ मा सुरुङमार्ग निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button