मुख्य न्यायाधिवक्ताहरुको प्रथम सम्मेलन हेटौंडामा सुरु

हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्य न्यायाधिवक्ताहरुको प्रथम सम्मेलन सुरु भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय हेटौंडाद्वारा आयोजित सम्मेलन बिहीबारबाट सुरु भएको हो । हेटौंडामा सञ्चालन हुने दुईदिने सम्मेलनको बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालको सभाध्यक्षतामा उद्घाटन भएको हो ।

ADVERTISEMENT

सो क्रममा बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले कानुन निर्माणमा पर्याप्त छलफल र अनुसन्धान हुन नसकेको औंल्याए । सभामुख पाठकले प्रदेश सभाबाट ७८ वटा ऐनहरु निर्माण गरे पछि ती ऐनहरु पर्याप्त हुन नसकेको उल्लेख गरे ।

यस्तै, कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारले कतिपय कानुनहरु नबनाउँदा प्रदेश सरकारलाई कानुन कार्यान्वयन गर्न समस्या परेको बताए ।

उनले राजनीतिक रुपमा नेपालमा संघीयताले सही दिशा समातेको दाबी गर्दै यद्यपि कार्यान्वयनको पाटोमा देखिएका समस्याहरु विस्तारै हल हुँदै जानेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।

यसैगरी, सम्मेलनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले संघीयताको बारे आएका नकारात्मक टिप्पणीलाई चिर्ने गरी मुख्य न्यायाधिवक्ताहरुले काम गर्नुपर्नेमा जोड दिए । उनले संविधान र कानुनले निर्दिष्ट गरेका जिम्मवारीहरु पुरा गर्नेतर्फ अग्रसर हुन प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई आग्रह गरे ।

Advertisement 5

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका मुख्य न्यायाधिवक्ता लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *