लघुकथा उत्सवमा स्रष्टा सम्मान तथा बहस कार्यक्रम

हेटौंडा, लघुकथाको उन्नयन गर्ने उद्देश्यले साहित्य सङ्गम मकवानपुरले शनिबार लघुकथा उत्सव कार्यक्रम आयोजना गरेको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टा सम्मान, बहस तथा लघुकथा वाचन कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले भाषा र लेखन क्षेत्रमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘साहित्यसँग सम्बन्धी विभिन्न कार्यक्रमको लागि साहित्य संघसंस्थासँग हेटौंडा उपमहानगरपालिकाले सहकार्य गर्ने छ ।’ उनले भने –‘पहिलेको तुलनामा अहिले समाज बिग्रदै गइरहेको अवस्था छ । अहिलेको समाज राम्रो बनाउने खालको कार्यक्रममा स्थानीय सरकार जोडिने छ ।’ कार्यक्रममा गोपालप्रसाद रिमाल स्मृति साहित्य सम्मानबाट शार्दुल भट्टराई र साहित्य सङ्गम मकवानपुर कृति सम्मान डाक्टर दामोदर पुडासैनीलाई प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले सम्मानित व्यक्तिलाई नगद र प्रमाणपत्रप्रदान गरेका थिए ।

साहित्य सङ्गम मकवानपुरका सल्लाहकार सुवास खनालले सम्मानित व्यक्तिको बारेमा संक्षिप्त चर्चा गरेका थिए । कार्यक्रममा लघुकथा चौतारी मकवानपुरका अध्यक्ष किशन पौडेलले लघुकथा लेखनमा महोत्सवले थप सहयोग पुग्ने बताए । यसैगरी साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरेले मकवानपुरमा साहित्य क्षेत्र चलायमान हुँदै अगाडि बढ्दै गइरहेको बताए । लघुकथाः सिद्धान्त र बाटो बहसमा चितवनका टीकाराम रेग्मी, नुवाकोटका दीपक लोहनी र काठमाडौंका सुमन वर्ष बहसकर्तामा रहेका थिए भने एसके निधनले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा १५ जनाले लघुकथा वाचन गरेको सङ्गमका सचिव मनोज पोखरेलले जानकारी दिए । कार्यक्रममा साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

Advertisement 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *