हेटौंडा, हेटौंडामा सञ्चालन भइरहेको लिटिल मास्टर एण्ड मिस ट्यालेन्ट नेपालको फाइनल राउण्डमा ५८ जना प्रवेश गरेका छन् ।
अमिर कला केन्द्रको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको दोस्रो संस्करणको लिटिल मास्टर एण्ड मिस ट्यालेन्टको फाइनल असार १ गते हेटौंडामा हुने केन्द्रका अध्यक्ष अमिर बज्राचार्यले जानकारी दिए । जेष्ठ १२ गतेबाट हेटौंडामा शुरु भएको अडिसनमा १३५ जनाले सहभागिता जनाएकोमा विभिन्न चरणको छनौट पार गर्दै फाइनल राउण्डको लागि ५८ जनाले प्रतिस्पर्धा गर्ने बज्राचार्यले बताए । ‘प्रतियोगितामा कक्षा १ देखि ८ सम्म अध्ययनरत छात्र तथा छात्राको सहभागिता रहेको छ ।’ उनले भने –‘विद्यार्थीको बौद्धिक क्षेमताको प्रस्फोटन गर्ने उद्देश्यले विगत गतवर्षबाट हेटौंडामा कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ ।’
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद २० हजार १० हजार र ५ हजार रुपैयाँप्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको निर्णायकमा कलाकार सबिन श्रेष्ठ, पल्पसा डंगोल, गोपाल ढकाल चन्दे, नानीकाजी डंगोल र सुगत करणजीत रहेका छन् ।
हेटौंडामा भएको पहिलो संस्करणको लिटिल मास्टर एण्ड मिस ट्यालेन्ट नेपालको उपाधी लिजा कार्की र क्षितिज तिमल्सिनाले जितेका थिए । असार १ गते हुने ‘ग्रयान्ड फिनाले’मा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुती रहने बज्राचार्यले बताए ।






