मन्त्री हुमागाईको एक वर्षे कामको उपलब्धी सार्वजनिक

हेटौंडा, कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले आफ्नो १३ महिने कार्यकालमा सम्पादन भएका प्रमुख उपलब्धीहरु सार्वजनिक गरेका छन् । बागमती प्रदेशमा नयाँ सरकार गठनको चर्चा सुरु भएसंगै मन्त्री हुमागाईले आफ्नो कार्यकालमा सम्पादन भएका मुख्यमुख्य कामलाई समेटेर सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उपलब्धीहरु सार्वजनिक गरेका हुन् । उनले आफ्नो कार्यकालमा ‘आत्मनिर्भर कृषि, समृद्ध प्रदेश’ को अवधारणा सहित कृषि क्षेत्रको रुपान्तरणको २०७८ पौष १४ गते ५५ बँुदे मार्गचित्र सार्वजनिकरण गरी कार्यक्रम सञ्चालन गरेका थिए । सोही अनुसार कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन बीउ पूँजी कोष कार्यक्रमको शुरुवात गरिएको र उक्त कार्यक्रमको मातहतका निकायबाट आवेदन संकलन तथा मुल्याङ्कन कार्य भइरहको मन्त्री हुमागाईले बताए ।

ADVERTISEMENT

दूध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई निरन्तरता दिदै प्रति लिटर १ रुपैयाँ ६३ पैसाका दरले २६० सहकारी संस्थाका कृषकहरुलाई १५ करोड ९९ लाख ५२ हजार ७ सय १४ रुपैयाँ रकम उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा प्रति लिटर बढीमा ५ रुपैयाँका दरले कृषककै बैंक खातमा भुक्तानि गर्ने गरी ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको, प्याज र लसुन खेतीको प्रवद्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रति किलो एक रुपैयाँका दरले प्रोत्साहन दिने व्यवस्था गर्नुलाई मन्त्री हुमागाईले आफ्नो मुख्य उपलब्धीको रुपमा लिएका छन् ।

उनले आफ्नो कार्यकालमा ‘नाफामूलक कृषिः कृषकको समृद्धि’का लागि कृषि वाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने, कृषि क्षेत्रको अर्थतन्त्रलाई गतिशिल र सुदृढ गर्न ‘प्रदेश कृषि विकास अध्यादेश’ २०७९ जारी गरिएको, किसान परिचय पत्र वितरण कार्यविधि, २०७९ स्विकृत भई राजपत्रमा प्रकाशन भएको, कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्य शुरुवात गरिएको, ६३ जना प्राविधिक करारमा नियुक्त गरी विभिन्न जिल्लामा खटाइएको, सम्पर्क कार्यालय नभएको जिल्लामा स्थापना गरी सञ्चालनमा ल्याइएको, पशुपंक्षीको रोग अन्वेषण तथा अनुसन्धान गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण कार्य भइरहेको, प्रदेशका ३० स्थानमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि बोलपत्र आह्वान गरिएको, बीउ बिजन आत्मनिर्भर कार्यक्रम शुरुवात गरिएको, ८ जिल्लाका १० स्थानमा शीतभण्डार निर्माण कार्य ८० प्रतिशत सम्पन्न गरिएको, हेटौँडामा दुध पाउडर प्लान्ट निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको र चालु आर्थिक वर्षमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।

हेटौँडा–११ मा निर्माणाधिन प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको, भेटेरिनरी एम्बुलेन्स सेवा प्रवाहका लागि भेटेरिनरी एम्बुलेन्स खरिदको क्रममा रहेको, कृषि औजार कारखाना स्थापना कार्यको आवेदन संकलन कार्य सम्पन्न भई मुल्याङ्कनको चरणमा रहेको, काभ्रेमा मिनी पाउडर प्लान्ट स्थापना र धादिङको धार्के र काभ्रेको मण्डनदेउपुरमा शीत भण्डार सहितको कृषि बजार स्थापनाका लागि डि.पि.आर भई निर्माणको प्रक्रियामा रहेको, कृषि उपज भण्डारको लागि कोल्ड च्याम्बर निर्माण गर्न सूचना प्रकाशन भई आवेदन संकलन कार्य भइरहेको, प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र स्थापना, भेडा बाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन, मानव र वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण तथा कृषि बालीको सुरक्षाको लागि १०.४६ किलोमिटर पर्खाल निर्माण सम्पन्न गरिएको, रासायनिक मल कारखाना स्थापना गर्ने विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य भइरहेको र ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षिय सहभागिता, खाद्य र पोषण सुरक्षाःहाम्रो प्रतिवद्धता’ नाराका साथ दशौँ राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएकोलाई मन्त्री हुमागाईले आफ्ना उपलब्धीको रुपमा लिएका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *