हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक औपचारिक समारोहका बीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले २ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी छन् ।
कार्यक्रममा मेयर लामाले आर्थिक अभावको कारण बालबालिका शिक्षाबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् । हिंसामुक्त नगर स्थापना गर्न सबै एकजुट हुनुपर्ने उनको भनाई छ । मेयर लामाले बालबालिकाहरुको चौतर्फी विकासको लागि अभिभावकहरुसंग सहकार्य गर्न पनि उपमहानगर तयार रहेको बताएकी छन् ।
उनले उपमहानगरलाई बालमैत्री नगर घोषणा गर्न ठुलो चुनौती रहेको जिकिर गरिन् । मेयर लामाले अरु वडाहरु पनि बालमैत्री वडा घोषणा हुने चरणमा रहेको बताए । यसैगरी कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवम् बालमैत्री शासन मूल समारोह समितिका संयोजक विष्णु गोपाल महर्जनले आवश्यक ५१ वटा सुचकमध्ये ४६ वटा सुचकहरु शत प्रतिशत, ३ वटा सुचक ९६ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत र १ वटा सुचक ९० प्रतिशतसम्म पुरा गरेको दाबी गरेका छन् ।
अध्यक्ष महर्जनले बालबालिकाको वृत्तिविकासका विषयहरुलाई वडाले आफ्नो योजनामा निरन्तर समावेश गर्दे आइरहेको
बताए । यसअघि ८ नम्बर वडा पनि बालमैत्री शासनयुक्त वडा घोषणा भइसकेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुंगाना, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्यता थियो ।







