हेटौंडा, नवोदय इनोभेसन सेन्टर, हेटौंडाले सञ्चालन गर्ने १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रमका सहभागीहरूलाई अभिमुखीकरण कार्यक्रम मङ्गलबार नवोदय शिशु सदनमा सम्पन्न भएको छ ।
कार्यक्रको उद्देश्य, आवश्यकता र प्रभाव बारे प्रस्तुति दिँदै नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनालले भने, ‘हेटौंडालाई शैक्षिक हब बनाउने सपना बोकेर अघि बढिरहेका छौँ । यस यात्रामा शैक्षिक रूपान्तरण हाम्रो लक्ष्य हो ।’ उनले स्कूलहरूलाई सक्षम शिक्षक उपलब्ध गराउनका लागि एक वर्ष अवधिको तालिम कार्यक्रम सुरु गरिएको बताए ।
तालिम कार्यक्रमको पाठ्यक्रम, मूल्याङ्कन प्रणाली प्रयोगात्मक शिक्षण सिकाइ बारे बताउँदै खनालले भने, ‘राम्रो अवसरले सक्षम शिक्षक खोजिरहेको छ, त्यसका लागि तयारी हो यो कार्यक्रम ।’ सहभागीहरूलाई सम्बोधन गर्दै उनले यस किसिमको कार्यक्रमको सार्थकताबारे प्रष्ट पारे।
नवोदय इनोभेसन सेन्टरको परामर्श सेवा लागू भएका विद्यालयका प्रिन्सिपलहरूले शुभकामना मन्तव्य राख्दै नवोदय इनोभेसन सेन्टरले आजको आवश्यकता पूरा गरेकोमा खुसी व्यक्त गरे । मकवानपुर बाल शिक्षा सदनका प्रिन्सिपल सुदीप गिरीले भने, ‘हेटौंडा बाहिरबाट सेवा लिनुपर्ने असहज परिस्थिति अन्त्य भएको छ, नवोदय इनोभेसन सेन्टरबाट हामीले पाएको साथले स्कूलमा देखिने गरी परिवर्तन भएकोमा धेरै खुसी छु ।’ श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहालले भने, ‘यो हामीले पाएको अमूल्य अवसर हो, यस्तो अवसर उपलब्ध गराएकोमा नवोदय इनोभेसन सेन्टरलाई धन्यवाद छ ।’ सहभागीहरूलाई शुभकामना दिँदै उनले यस्तो अवसर नगुमाउन आग्रह गरे ।
१ वर्ष अवधिको डिप्लोमा कोर्स संयोजक रमिता दर्लामीले तालिम प्रशिक्षकहरूको परिचय गराउँदै भनिन्, ‘हामी शिक्षण पेशालाई मर्यादित पेशाको रूपमा स्थापित गराउँदै कामको खोजीमा रहेका सहभागीलाई राम्रो अवसर सुनिश्चित गराउँछौँ।’
कार्यक्रममा सहभागीहरूलाई सहजीकरण गर्दै तालिम प्रमुख नरेन्द्रकुमार नगरकोटीले भने, ‘हामी शैक्षिक क्रान्तिको यात्रामा छौँ, तपाईंहरू त्यसको योद्धा हुनुहुन्छ ।’ डिप्लोमा कोर्समा उत्साहप्रद सहभागिता रहेकाले २-३ समूह बनाएर तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने परिस्थिति आइपरेको उनले बताए ।
नवोदय इनोभेसन सेन्टर, हेटौंडाले आगामी २२ गते मङ्गलबारबाट नियमित रूपमा तालिम सञ्चालन हुने भएको छ।






