हेटौंडा, “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारासहित ६९ औं राष्ट्रिय बाल दिवसको अवसरमा थाहा नगरपालिकाको बालबालिका शाखाले वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ। थाहा नगरपालिका महिला बालबालिका शाखाको आयोजना तथा शिक्षा शाखाको सहकार्यमा माध्यामिक तह स्तरीय वक्तृत्वकला सम्पन्न भएको हो।
प्रतियोगितामा सुनौला माध्यमिक विद्यालयकी आकृती गोपाली प्रथम भएकी छिन,प्रथम भएसंगै आकृतिले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छिन। तेसैगरी इअन स्कुलका बेबि गोपाली दोस्रो हुदा बज्रबाराही माबिका रिता देवी स्याङ्तान र सरस्वती विद्या मन्दिरका अभिषेक ज्सिसवाल तेस्रो हुन सफल भए। दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३ हजार र २ हजार सहित प्रमाणपत्र प्राप्त गरे।
बिजेता तथा सहभागी सम्पूर्णलाई थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
नगरपालिकाका ११ विद्यालयको सहभागिता रहेको प्रतियोगिता महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ समितिका संयोजक अनिता बलको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बिष्टले बालमैत्री समाजले मात्र बालबालिकाको समुन्नत विकास हुने र उनीहरुको भविष्य उज्ज्वल हुने भन्दै नगरपालिकाले बालबालिकाको क्षेत्रमा लगानी बढाइरहेको बताए । बालअधिकार हनन् हुन नदिन र संविधानमा व्यवस्था भए बमोजिम उनीहरुले पाउने अधिकार प्राप्तीका लागि अभिभावकसँगै सिंगो समुदाय पनि सचेत हुनुपर्नेमा उनले जोड दिए।
नगर शिक्षा शाखाका अधिकृत सुर्य थिङले संचालन गरेको कार्यक्रममा शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्लले स्वागत गरेका थिए।
कार्यक्रममा नगर बाल संजालकी अध्यक्ष खुशी गोपाली,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की,नगर शिक्षा समिती सदस्य हरिकृष्ण कार्की,अर्जुन सुनार,कार्यपालिका सदस्य सविता सुनार,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,कार्यपालिका सदस्य जनक बिक,प्याब्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान लगायत शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायकमा रत्न बहादुर शाही, लोकेन्द्र ठाकुर र विनोद अर्याल रहेका थिए।







