हेटौंडा, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उद्यमी क्षेत्रमा महिलाहरुको सक्रियता बढी हुने गरेको बताएका छन् ।
शुक्रबारबाट हेटौंडामा सुरु भएको दुई दिने प्रदेश स्तरीय उद्योग वाणिज्य संघ महिला उद्यमी व्यवसायी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लामाले उद्योग वा उद्यमी गर्दा कानुन र ऐनलाई पनि अध्ययन गरेर बुझेर खोल्न आग्रह गरे । उद्यमी क्षेत्रमा महिलाहरुको बढी आकर्षित रहने हुनाले कतिपय अवस्थामा ऐन र कानुन विपरित सञ्चालन भइरहेको समेत बताए ।
उद्योगले राष्ट्रलाई समृद्धि बनाउन तर्फ प्रेरित रहन्छ भने युवाले मात्र नभई समग्र महिलाहरु मिलेर साना घरेलु उद्योग भन्दा मझौला तथा ठुला उद्योग सञ्चालनतर्फ लाग्नुपर्ने बताए । ‘हामी नीति कार्यक्रम बनाउने तयारीमा छौं महिला उद्यमी र त्यससँग जोडिएका विषयवस्तुलाई समेट्छौं’,मन्त्री लामाले भने । उद्योगमा उत्पादित वस्तुलाई बजारिकरण र कच्चा पदार्थको उपलब्धतालाई हेरेर महिलाहरुले गर्नुभएको उद्यमलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघका अध्यक्ष सुशीला पाण्डेको सभाध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, मुख्य प्रशिक्षक श्रृजना श्रेष्ठ, प्रशिक्षक राज्यलक्ष्मी शाक्यलगायतको आतिथ्यता रहेको थियो ।
दुई दिन सम्म सञ्चालित गोष्ठीमा १३ जिल्लाका २५ वटा गाउँनगर उवासंघका ८० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । गोष्ठीमा उद्यमीहरुको समस्या, सरकारका ऐनहरु, राजस्वका विषयमा बृहत छलफल गरिने आयोजकले जनाएको छ ।






