हेटौंडा,सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले गाउँगाउँ पुगेर मतदाता भेट्दै आफ्ना चुनावी एजेण्डा सुनाउँदै आफ्नो प्रभाव बढाउ“दै लगेकी छन् । चाडपर्वको समयमा समेत उनी दैनिकजसो निर्वाचन अभियानमा जनताको घरदैलोमा पुगेकी छन् । पछिल्लो समय उनको पक्षमा माहौल सिर्जना भइरहेको छ ।
विपक्षीले उनको बजारमा पकड कमजोर रहेको आरोप लगाइरहेको अवस्थामा उनको पक्षमा माहौल बढ्दै गएको पाइएको छ । सामाजिक, सहकारी, महिला अधिकारकर्मी र युवाहरु उनको पक्षमा खुलेरै मत माग्न थालेका छन् । उनले आफू सांसद् हुनका लागि मात्रै नभई जनतताको सुखदुःखमा साथै रहन प्रत्यक्ष निर्वाचनमा सहभागी हुन आएको बताउने गरेकी छिन् । कांग्रेसको केन्द्रीय कार्यसमितिमा पदाधिकारीमा पहिलो नम्बरको महिला नेतृ रहेकी उनको नाम समानुपातिक बन्द सुचीमा एक नम्बरमै रहेको थियो । ‘एक नम्बरमै भएको नाम हटाउन लगाएर म जिल्लाबाट जनमत लिएर आउँछु भनेर आएको हुँ । जनताबाटै निर्वाचित भएरै जनताको सेवा गर्छु भनेर प्रत्यक्षतर्फ उम्मेदवार बनेको हु“’, उनले भन्ने गरेकी छिन् ।
उनलाई सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा समाजवादी र अन्य दलको साथ रहेका कारण पनि जित्न कठिनाई नहुने अड्कलबाजी गरिएको छ । अहिले उनी दैनिक एक दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएर आफ्नो चुनावी एजेण्डा र आगामी योजना सुनाइरहेकी छिन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उनी कांग्रेसले देशभरमा उठाएको चारजना महिला उम्मेदवार मध्ये एक हुन् । उनीसँग राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह चुनावी मैदानमा छन् । थापा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएपछि एमालेभित्रै असन्तुष्टिको अवस्था रहेको छ । जुन उम्मेदवारी दर्ताकै दिनमा देखिएको थियो ।
राप्रपाका जनाधार यस क्षेत्रमा कमजोर रहेको छ । यस निर्वाचन क्षेत्रका स्थानीय तहमा कांग्रेस र माओवादीको उपस्थिति बलियो रहेका कारण उनलाई चुनावी नतीजा आफ्नो पक्षमा पार्न सहज हुने अनुमान गरिएको छ । डिनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पस पूर्वसभापति भइसकेकी उनी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् । यस निर्वाचन क्षेत्रमा ४ वटा पालिकाका ४० वटा वडा पर्छन् ।
हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गापाको १२ र बागमती गाउँपालिको ९ वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये २६ वटा वडामा सत्तारुढ दल विजयी भएको छ । चारवटा पालिकामै सत्तारुढ गठबन्धनको मात्र मेयर÷उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । यसक्षेत्रमा ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्य चार गरी १ लाख ५० हजार १ सय ५५ हजार मतदाता रहेको छ ।








