हेटौँडा, हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी शनिबार ‘एक्जिट’ कार्यक्रम आयोजना गरेको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही सिक्नु भएको कुराहरूलाई विद्यार्थीहरूले विभिन्न खेलमार्फत प्रस्तुती दिएका थिए ।
वर्षमा दुईचोटी आयोजना हुने एक्जिट कार्यक्रम शैक्षिक सत्र २०८१ को लागि यो पहिलो कार्यक्रम रहेको कक्षा १ की शिक्षिका इशा अधिकारीले जानकारी दिइन् । कक्षा १ की शिक्षिका बन्धना रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नवोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका जोशीले भने –‘नवोदय विद्यालयले विद्यार्थीलाई क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न सीपहरू प्रदान गरिरहेको छ ।
विद्यार्थीलाई अगाडि बढाउनमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।’ अभिभावकमध्ये आमाले विद्यार्थीलाई संस्कार सिकाउनु पर्छ भने बुवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा हेटौँडा सिटी कलेजका प्रिन्सिपल श्रीबहादुर कार्कीले नवोदय विद्यालयले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न अवसर प्रदान गरेको भन्दै विद्यालयको प्रशंसा गरे । ‘विद्यार्थीलाई शिक्षा घोकाउनु र सिकाउनुमा धेरै फरक छ ।’ उनले भने –‘विद्यार्थीलाई सिकाउने शैली अन्य विद्यालयको तुलनामा नवोदयको फरकपन छ ।’ कार्यक्रममा कक्षा १ मा अध्ययनरत विद्यार्थीले स्टेज प्रस्तुत गर्नुका साथै कक्षा १ का विद्यार्थीहरूले ‘नाउन’ खेल, व्यवहार प्रदर्शन, मपेट र पपेट प्रस्तुती, फोनिक्ससम्बन्धी गतिविधि, गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मनोज थिङ, प्राथमिक तह शैक्षिक संयोजक सचिता पाण्डे, पत्रकार सुजन ढकाल लगायतको आतिथ्यता रहेको थियो ।






