हेटौंडा, उद्योगमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्योगहरूसँग सरकारी उद्योगहरूले प्रतिस्पर्धा गर्न नसक्दा सरकारी स्वामित्वमा रहेका उद्योगहरू धराशायी बन्न पुगेको बताएका छन् ।
शनिबार हेटौँडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा मन्त्री भण्डारीले निजी क्षेत्र व्यवस्थापन, सञ्चालनको पक्षमा ह्रास हुँदा सरकारी उद्योगमा सङ्कुचन आएको बताएका हुन् । उनका अनुसार राजनीतिकरणले सरकारी स्वामित्वका उद्योग बन्द र जीर्ण हुने अवस्थामा पुगेको बताए । हेटौँडा सिमेन्ट उद्योग थलिनुमा पनि सबै पक्ष र राजनीतिकरण नै मुख्य कारण रहेको उनले बताए । सरकारी उद्योगहरू बन्द तथा धराशायी बन्नुमा सबै पक्षको कमजोरी रहेको मन्त्री भण्डारीले औँल्याए ।
उद्योग सञ्चालनको जिम्मा उद्योगी व्यवसायीलाई नै दिनुपर्ने र सरकारले उपयुक्त लगानी तथा उद्योग सञ्चालनको वातावरण निर्माण गरिदिनुपर्ने उनले बताए । सरकारले ९ वटा जीर्ण र सङ्कटग्रस्त उद्योग सञ्चालनको मोडल तयारी अघि बढाएको मन्त्री भण्डारीले बताए । अघिल्लो सरकारले हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सहित जीर्ण ९ उद्योगलाई निजीकरण इकाईमा पठाएको मन्त्र भण्डारीले बताए ।
समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए ।
मन्त्री भण्डारीले आजै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाका बारेमा निरीक्षण गरेका छन् । कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए । हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले आज नै अवलोकन गरेका थिए ।






