सुजन ढकाल
हेटौंडा/चाडपर्व नजिकिएसंगै मकवानपुर जिल्लामा खेलकुदका विविध गतिविधिहरु भैरहेको छ । हिन्दूहरुको महान चाड विजया दशमीलाई लक्षित गरी टोल विकास स्तरीय १५ नम्वर वडा कप, प्रथम अध्यक्ष कप ७ ए साइड, प्रथम नेकोस खुल्ला पेनाल्टी फुटबल प्रतियोगिता आयोजना हुँदैछ भने हेटौंडा ४ हुप्रचौरमा उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी छ ।

यसैगरी थाहा नगरपालिकामा बिच भलिबल र मनहरी गाउँपालिकामा पनि भलिबल प्रतियोगिता हुँदैछ । टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा १५ को आयोजनामा टोल विकास संस्था स्तरीय १५ नम्वर वडा अध्यक्ष कप फुटबल प्रतियोगिता विहीबारबाट शुरु भएको छ । वडा अध्यक्ष सुनिल मुक्तानले उद्घाटन गरेको प्रतियोगितामा १७ वटा टिमले सहभागिता जनाएको छ । यसैगरी असोज ८ गतेदेखि प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुँदैछ ।
हेटौंडा–८ नम्बर वडा कार्यालयको सहयोग तथा ८ नम्बर वडा खेलकुद समितिको सहकार्यमा वडा भित्रका टोल विकास संस्थाको प्रतिनिधित्व रहने गरी प्रतियोगिता आयोजना गरिएको ८ नम्बर वडा खेलकुद समिति संयोजक उमेश थापा मगरले जानकारी दिए । चन्द्रोदय माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको तथा विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिता असोज ८ गतेबाट १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । नजिकिदै गरेको विजया दशमी तथा तिहार एवं छठ पर्वको सन्दर्भमा प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मगरले बताए ।
यसैगरी असोज १० गते नेपाल खेलकुद महासंघ समाजवादीले खुल्ला पेनाल्टी सुट आउट प्रतियोगिता आयोजना गर्दैछ । महासंघले पत्रकार सम्मेलनको आयोजना गरी विजया दशमी तथा शुभदीपावलीको पावन अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको बताएको थियो । नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य निरज सिंह ठकुरीले हेटौंडामा पहिलो पटक हुन लागेको पेनाल्टी सुट आउट फुटबल प्रतियोगितामा मकवानपुर र जिल्ला बाहिरका करिब २५ टिमको सहभागिता रहने बताए । विजया दशमीको अवसरमा तथा थाहा नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि थाहा कला केन्द्रले थाहानगरमा बिच भलिबल प्रतियोगिता आयोजना गर्दैछ ।
बिच भलिबल प्रतियोगिता असोज १४ गतेबाट शुरु भई १७ गते समापन गर्ने केन्द्रले जनाएको छ । असोज ११ गतेदेखि दि राइजिङ स्टार यूथ क्लव मनहरी–८ सिमपानीको आयोजनामा भलिवल प्रतियोगिता हुँदैछ । नेपालीहरुको महान पर्व बडा दशैको अवसरमा क्लवले भलिल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको क्लवले जनाएको छ । मनहरी ८ सिमपानीमा हुने प्रतियोगिताको विजेता हुने टिमले नगद ५० हजार र उपविजेता टिमले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई समेत जनही नगद २ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
यस्तै मनहरीकै ३ नम्बर वडामा रहेको जनशिद्ध युवा क्लवको आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । यसैगरी हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हरेक बर्ष सञ्चालित हुने स्व केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरिय भलिबलको सातौ सस्करण यहि असोज २६ गतेदेखि २९ गतेसम्म हुदैछ । मनहरी गाउँपालिकाभित्रका क्लव र खेलाडीको सहभागितामा हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । मकवानपुरगढी ४ मा रहेको नेष्ट कला संस्थाको आयोजनामा भएको प्रथम ११ साइड सामरी गोल्ड कपको उपाधि चौकीटोल युवा क्लबले हात पारेको छ ।
भदौ ३१ गतेबाट सुरु भएको फुटबलमा १२ वटा क्लबहरुले सहभागिता जनाएका थिए । फाइनल खेलमा भीमफेदी युवा क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै चौकीटोल युवा क्लबले उपाधि हात पारेको हो । विजेता बनेको चौकीटोलले प्रमाणपत्रका साथ खसी पुरस्कार प्राप्त गरेका छन् भने भीमफेदीले बोका पुरस्कार पाएको थियो । चाडपर्वको सन्दर्भमा गाउँगाउँमा भलिबल तथा फुटबल प्रतियोगिताहरु आयोजना हुन थालेको छ । चाडपर्वको नाममा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादन र युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापित हुने मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गीको विश्वास रहेको छ । पछिल्लो समय गाउँ गाउँमा खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको भन्दै उनले यसले खेल क्षेत्रको विकासमा मद्दत पुग्ने बताए ।






