हेटौँडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै यही पुस १२ गते हेटौंडा–१६ ले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको हो ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दे बालमैत्री घोषणा तयारीका विषयमा जानकारी प्रदान गरिएको हो । १६ नम्बर वडाका अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समिति संयोजक रामकृष्ण कोइरालाले बालमैत्री वडा घोषणाका लागि सबै तयारी पूरा भएको जानकारी दिए ।
यस वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४७ वटा सूचकमा सतप्रतिशत र बाँकी सुचकमा न्यूनतम नतिजा हासिल गरेको उनले बताए । यस वडामा सामुदायिक, संस्थागत विद्यालय र बाल विकास केन्द्र सहितका गरी ६ वटा विद्यालय सञ्चालनमा रहेको वडा अध्यक्ष कोइरालाले बताए । २०७९ को घरधुरी सर्वेक्षण अनुसार यस वडामा १८ वर्ष मुनिका २ हजार ३ सय ८० बालबालिका रहेका छन् ।







