हेटौंडा, हेटौंडामा जारी वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा सोमबार तीन खेल सम्पन्न भएको छ । सोमबार भएको पहिलो खेलमा वडा नम्वर १८ लाई ४ विकेटले हराउँदै ८ ए टिम विजयी भएको छ ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको १८ नम्वर वडा ८१ रनमा अलआउट भयो । वडा नम्वर ८ ए ले ६ विकेट गुमाएर ८५ रन बनाउँदै लक्ष्य भेटायो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्वर ८ ए का सुरज भट्टराई घोषित भए । सोमबार भएको दोस्रो खेलमा वडा नम्वर ९ बी लाई हराउँदै वडा नम्वर २ विजयी भएको छ । पहिले ब्याटिङ रोजेको ९ बीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १११ रन बनायो ।
११२ रनको लक्ष्य पाएको २ नम्वर वडाले १२ ओभरमै लक्ष्य भेट्टायो । प्रतियोगितामा वडा नम्वर २ का खेलाडी शुभ कंसाकार म्यान अफ द म्याच घोषित भए । यसैगरी, सोमबार नै भएको तेस्रो खेलमा हेटौंडा–१६ विजयी भएको छ । हेटौंडा–८ बी लाई ४ रनले हराउँदै हेटौंडा–१६ विजयी भएको हो । शुरुमा ब्याटिङ गरेको वडा नम्वर १६ ले १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ९९ रन बनायो ।
१०० रनको लक्ष्य पाएको वडा नम्वर ८ बीले १६ ओभरमै अलआउट हुँदै ९५ रन मात्र बनाउन सफल भयो । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा १९ वटा वडास्तरीय टोलीको सहभागिता रहेको छ ।








