हेटौंडा, २९ असार/हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा २०९ औँ भानु जयन्तीको अवसरमा आयोजित स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिताको उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् ।

बुधबार भएको प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका प्रज्ञान पन्त, सत्यम जेभियर्सका बोर्डिङ स्कूलका स्तुति कर्ण र जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई शिल्ड, प्रमाणपत्रसहित नगद प्रदान गरिएको छ । प्रतियोगितामा जीएस निकेतन विद्यालयका सारा केसी सान्त्वना भइन् । नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत २९ जना विद्यार्थीले स्थलगत कविता लेखनमा सहभागिता जनाएका थिए । जसमा ७ वटा कविता निर्णायकले छनौट गरी विद्यार्थीले वाचन गरेका थिए ।
नवोदय साहित्यक बगैँचा बाल क्लब अध्यक्ष दर्शना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको विशिष्ट आतिथ्यता रहेको थियो । महाशाखाले विद्यार्थीको सिकाइसंगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए । कार्यक्रममा साहित्यकार तथा अधिवक्ता ऋषि के.वी द्वारा रचना गरिएको रगतले लेखिएको इतिहास पहिलो गजल नाटक मञ्चन भएको थियो । उक्त नाटकमा साहित्यकार पुरुषोत्तम आचार्यको स्वर रहेको थियो भने निर्देशन आशाकाजी श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा साहित्यकार पुष्प पराग, छवि अनित्य, ऋषि केवीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नवोदय साहित्यिक बगैँचा बाल क्लवका उपाध्यक्ष रोनश उप्रेतीले शिक्षामा हुने परिवर्तन विषयक बहस कार्यक्रम सञ्चालन गरेका थिए । बहसमा मकवानपुर बाल विद्या सदनकी प्रिन्शा कार्की, जीएस निकेतनकी निमिशा निरौला, आधुनिक माविका रत्नाकर कुमार साह, जनज्योति मावि मयुरधापका सौरज देवकोटा तथा नवोदय शिशु सदनका निर्भीक ज्ञवालीले अहिलेको समयमा विद्यार्थीलाई कस्तो शिक्षा दिनुपर्छ भन्ने विषयमा धारणा राखेका थिए ।






