हेटौंडा, बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको बजेटको पुरक प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले पेश गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गर्दा सभासदहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए।
सरकारले बजेट निर्माणका क्रममा छुटेका योजना तथा कार्यक्रमहरूलाई समावेश गर्दै विपक्षी दलहरूको मागअनुसार पुरक प्रस्ताव संसदमा टेबुल गरेको हो। उक्त प्रस्तावलाई पारित गरी सरकारलाई निर्देशन दिने र त्यसअनुसार कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइने प्रदेश सरकारले स्पष्ट पारेको छ।
छलफलका क्रममा विपक्षी दलका नेताहरू—माओवादी केन्द्रका प्रमुख सचेतक रन्तप्रसाद ढकाल, राप्रपाका नेता उद्धव थापा, एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल र नेमकिपाका सुरेन्द्रराज गोर्साईंले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बजेटमा देखिएको असन्तुलन र अव्यवहारिक कार्यक्रम सच्याउन आग्रह गरेका थिए। उनीहरूले सत्तापक्षभित्रै असन्तुष्टि देखिएको भन्दै आन्तरिक सन्तुलन कायम गर्न समेत सरकारलाई सुझाव दिए।
छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री काफ्लेले समृद्ध बागमती निर्माणका लागि सरकार स्पष्ट कार्ययोजना र सोचसाथ अघि बढिरहेको बताए। उनले प्रदेशको आम्दानी र खर्च प्रणाली सुधार गर्नेतर्फ सरकार गम्भीर रहेको र सांसदहरूको सुझावअनुसार काम हुने प्रतिबद्धता पनि जनाए।
सभामुख पाठकले विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्तावका लागि आइतबार बिहान ११ बजेसम्म समय तोकेर प्रदेशसभा बैठक स्थगित गरेका छन्। अबको बैठकमा मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथि छलफल हुनेछ भने खर्च कटौती सम्बन्धी प्रस्तावहरूमा पनि बहस हुने कार्यसूची तय भएको छ।






