हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा हुन लागेको ४ नम्वर वडा स्तरीय शिक्षक फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
माघ २५ र २६ गते हेटौंडामा हुने शिक्षक फुटबल प्रतियोगितामा वडामा रहेका हेटौंडा क्याम्पससहित ६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको समूह ‘क’ मा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, हेटौंडा क्याम्पस र भुटनदेवी माध्यमिक विद्यालय रहेको छ । यसैगरी समूह ‘ख’ मा ब्रम्हदिक एकेडेमी, नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय र सत्यम जेभियर्स माध्यमिक विद्यालय रहेको छ । प्रतियोगितामा विजयी हुने टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ब्रम्हदिक एकेडेमी विद्यालयको व्यवस्थापनमा शिक्षक फुटबल प्रतियोगिता हुन लागेको हो ।
गतवर्ष भएको ४ नम्वर वडा स्तरीय शिक्षक फुटबल प्रतियोगिताको उपाधी नवोदय शिशु सदनले जितेको थियो । विद्यालय स्तरबाट खेल क्षेत्रलाई प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापन तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ ले विद्यार्थी तथा शिक्षकलाई समेटेर दोस्रो खेलकुद महोत्सव मनाइरहेको छ ।







