हेटौंडा मेन डोजोलाई मेयर कप कराते प्रतियोगिताको उपाधी

हेटौंडा, नेपाल सितोरियो कराते संघ जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा भएको प्रथम जिल्ला स्तरीय मेयर कप खुल्ला कराते प्रतियोगिताको उपाधी हेटौंडा मेन डोजोले जित्न सफल भएको छ ।

मंसिर १४ र १५ गते हेटौंडामा भएको प्रतियोगितामा हेटौंडा मेन डोजोले ९ स्वर्ण जित्दै टिम प्रथम बन्न सफल भएको हो । यसैगरी ६ स्वर्ण जित्न सफल भएको किड्स डोजो टिम दोस्रो हुन सफल भएको छ । प्रतियोगितामा प्रथम र दोस्रो भएको टिमलाई शिल्ड प्रदान गरिएको थियो भने तौल समूहमा प्रथम, दोस्रो र तृतीय भएकालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल सितोरियो कराते संघ जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष दिपकबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका मेन डोजोका कपिल डिम्डुङ्ग र श्रेया श्रेष्ठलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो । यसैगरी मेन डोजोका सुष्मा चौलागाई र किडस डोजोका क्रिपेश स्याङ्तान उदयमान खेलाडी घोषित भए । हेटौंडामा भएको प्रतियोगिताका तौल समूह अन्तर्गत पुरुषतर्फ २५, ३०, ३५, ४२, ४७, ५२, ५७, ६२, ६७ केजी र महिलातर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य संगीत श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष वेष खड्गीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button