हेटौँडा, स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा ६८.०९ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदान कार्य सम्पन्न भए सँगै दुईवटा मतदान केन्द्रमा प्रारम्भिक खसेको मत अनुसार पाँच हजार चार सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिए ।
उक्त वडामा सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा महिला एक हजार ६ सय सैंतीस र पुरुष एक हजार तीन सय ७२ गरी जम्मा तीन हजार दश मत खसेको छ । यहाँ चार हजार चार सय २८ मतदाता रहेका थिए । त्यस्तै, भोर्ले स्थित विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा महिला एक हजार तीन सय नौ र पुरुष एक हजार एक सय ६५ गरी दुई हजार चार सय ७४ मत खसेको निर्वाचन अधिकृतले जनाएका छन् । त्यहाँ तीन हजार छ सय २५ मतदाता रहेका थिए । दुवै केन्द्रमा गरी कुल ५ हजार चार सय ८४ मत खसेको छ ।
८ हजार ५३ मतदाता रहेको उक्त वडामा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । मतपेटिका ढुवानी गरी हेटौडा २ स्थित मतगणना स्थल सिद्धार्थ माध्यामिक विद्यालय ल्याइने छ । सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत भट्टराई बताए ।