हेटौंडा, हेटौंडा १० मा रहेको तुल्सी मेहर माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु भएको छ । मङ्गलबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा खेलकुद सप्ताह सुरु भएको हो ।
तुल्सी मेहर विद्यालयका सहायक प्रधानाध्यापक कमल नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलुकद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका मोक्तानले प्रतियोगितामा उत्कृष्ट हुने २ जना छात्र र छात्रालाई जिल्ला खेलकुद विकास समितिले सम्मान गर्ने उद्घोष गरे । विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा खेलकुदले महत्वपूर्ण सहयोग पुर्याउने हुँदा विद्यालयमा पढाई सँगसंगै खेलकुदमा पनि जोड दिँदै आएकोले गर्दा आजबाट खेलकुद सप्ताह सुरु भएको विद्यालयका सहायक प्रधानाध्यापक नेपालले बताए ।
चार दिनसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा एथ्लेटिक्स, भलिबल, फुटबल र कबड्डीका खेलहरू सञ्चालन हुनेछ । प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई विद्यालयले प्रमाणपत्र र मेडल प्रदान गरिने छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका सदस्य मदन उप्रेती, शिक्षक, विद्यार्थीको उपस्थिती रहेको थियो ।







