हेटौंडा,नेपाल डेरी एशोसिएसनको आयोजनामा आज शुक्रबार हेटौंडामा एकदिने डेरी मेला हुने भएको छ । एशोसिएसनको २२ औं वार्षिक साधारणसभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा एकदिने डेरी मेलाको आयोजना हुन लागेको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले डेरी मेलाको बिषयमा जानकारी दिएको हो ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दैनिक दूध पिउने बानीको विकास एवम् सचेतना जगाउने उद्देश्यले हेटौंडामा एकदिने डेरी मेलाको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । डेरी मेला दोस्रो भएको आयोजकको भनाई छ । राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्य तथा एशोसिएसनको आयोजनामा हुने मेलामा १५ वटा स्टल रहने छ । नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन भइरहेको छ । पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचारप्रसार गर्ने, गुणस्तर कायम गर्न र जनचेतना जगाउने डेरी मेलाको मुल उद्देश्य रहेको सापकोटाले बताए ।
आइसक्रिम, डेरीबाट उत्पादन भएका वस्तु, मेसिनबाट निर्माण भएको खुवा लगायतका दूधबाट बनेका परिकारहरु मेलामा राखिनेछ । अध्यक्ष सापकोटाले अहिलेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण उद्योग र किसान दुवैलाई अप्ठेरो परेको बताए । ‘यसैगरी मूल्यवृद्धि भइरहे उद्योग पनि रहँदैन, किसान पनि रहँदैन,’ उनले भने ‘दुवैले घाटाको व्यापार गर्नुपरेको छ ।’ त्यसैगरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले सधैंभरी मूल्यमा एकरुपता हुने भनेको दूधमा मात्रै रहेको दावी गरे । ‘वर्षाैंदेखि मूल्यमा एकरुपता रहेको दूधमा मात्रै हो,’ उनले भने ‘त्यसैले यो अनुशासित व्यवसाय हो ।’
दुईदिन सम्म हेटौंडामा सञ्चालन हुने एशोसिएसनको साधारणसभा तथा अधिवेशनको उद्घाटन बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईले गर्नेछन् । महाधिवेशनमा देशभरीबाट करिब २५० जना डेरी उद्योगीको उपस्थिति रहने छ भने मेलामा नगरका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । आयोजकले डेरी मेलामा सहभागी हुन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।






