हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचनको पूर्वसन्ध्यामा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् ।
आईतबार सचिवालयको उद्घाटनसँगै उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवार घोषणा गरेका हुन् । अग्रवालका आमा रमेदेवी अग्रवालले रिवन काटेर सचिवालयको उद्घाटन गरेकी थिईन् । उद्घाटनसँगै उम्मेदवार अग्रवालले उपस्थिती भएका उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै सबैको साझा समस्यामा आफु सधैं उभिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी निर्वाचनमा अध्यक्ष पदमा मतदान गरी सहयोग गर्न उनले आग्रह गरेका छन् । उनले टिमको प्रतिवद्धता र पूर्ण टिमको घोषणा छिट्टै गरिने बताउँदै उद्योगी र व्यवसायीको हकहितमा आफु सदैव लाग्ने बताए ।
संघमा आमन्त्रित सदस्य हुँदै समितिमा प्रवेश गरेका अग्रवाल दुई पटक कार्यसमिति सदस्य र दुई पटक सह कोषाध्यक्ष हुँदै एक पटक कोषाध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गरेका छन् । हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्ष पदको लागि संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले पनि उम्मेदवार घोषणा गरिसकेका छन् ।







