हेटौंडा, हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जानकी गिरी चयन हुनु भएको छ । विहीबार बसेको बैठकले गिरीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य समेत रहनु भएकी गिरीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको हो । अमर माध्यमिक विद्यालयको ३२ औं अभिभावक भेलाबाट विद्यालय ब्यवस्थापन समितिका सदस्यमा अभिभावकहरु धनबहादुर तामाङ, बसन्त अर्याल, बिमला थापा, शर्मिला अधिकारी चयन भएका थिए । यसैगरी रामकुमार बर्तौलालाई शिक्षा प्रेमीबाट र जानकी गिरी चन्दादाताबाट विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा मनोनित गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रूपमा अकुर प्रसाद गौतमलाई छनौट गरिएको थियो । ९ सदस्यीय रहने समितिको सदस्यसचिवमा विद्यालयका प्रधानाध्यापक रहनेछन् भने सम्बन्धित वडाका वडा अध्यक्ष वा प्रतिनिधि पनि समितिको सदस्य रहने छन् । २०३५ सालमा स्थापना भएको अमर विद्यालयमा हाल ६ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।







