सुजन ढकाल
हेटौंडा, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । यही चैत्र १७ गते शुक्रबारबाट सुरु हुने कक्षा १० को एसईई परीक्षाको सबै तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ । यस वर्षको एसइई परीक्षामा बागमती प्रदेशका १ लाख १ हजार ७ सय ३३ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् ।
निर्देशनालयका अनुसार परीक्षाका लागि १३ जिल्लामा ४३४ वटा परीक्षा केन्द्रहरू तोकिएको छ भने ४ सय ३४ जना केन्द्राध्यक्ष, ७ सय ३७ जना सहायक केन्द्राध्यक्ष, ५ हजार ८६ जना निरीक्षक, १ हजार ६४ जना परीक्षा सहायक, २ हजार ५५ जना कार्यालय सहयोगी र ६ हजार ५ सय १० सुरक्षाकर्मी गरी १५ हजार ८८६ जना जनशक्ति खटिने छन् । परीक्षामा काठमाडौंबाट ३६ हजार ५७७ जना, भक्तपुरबाट ५ हजार ८०५ जना, ललितपुरबाट ९ हजार ८९९ जना, काभ्रेपलाञ्चोकबाट ६ हजार ४३६ जना, सिन्धुपाल्चोकबाट ३ हजार ९ सय ८५ जना, नुवाकोटबाट ४ हजार ३०० जना, रसुवाबाट ६२८ जना, धादिङबाट ५ हजार ३८६ जना, मकवानपुरबाट ६ हजार ३३३ जना, चितवनबाट १० हजार ८५६ जना, रामेछमपबाट ३ हजार २२५ जना, दोलखाबाट ३ हजार ६२ जना र सिन्धुलीबाट ५ हजार २४१ जनामा परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षाको लागि सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तर पुस्तिका पु¥याइ सकिएको, परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पुगिसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिइन् । त्यस्तै, केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्य समेत सम्पन्न भई परीक्षा सम्बन्धी पूर्व तयारीको सम्पूर्ण काम सम्पन्न भएको बताइएको छ । परीक्षा २९ गतेसम्म संचालन हुनेछ । एसइइ परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहित बनाई परीक्षार्थीहरुले निर्धक्कसँग परीक्षा दिने बातावरण बनाई दिनुहुन सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी लगायत सम्पूर्णमा निर्देशनालयले अनुरोध गरेको छ ।
मकवानपुरमा २५ वटा परीक्षा केन्द्र
एसईईको लागि मकवानपुर जिल्लामा २५ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । इकाई मकवानपुरका अनुसार बागमतीमा १, हेटौंडामा १४ वटा, मनहरीमा २, थाहानगरमा ३, मकवानपुरगढीमा १, बकैयामा २, भीमफेदीमा १ र इन्द्रसरोवरमा १ वटा परीक्षा केन्द्र तोकिएको हो ।
राक्सिराङ र कैलाश गाउपालिकामा भौतिक पूर्वाधारको अभावका कारण परीक्षा केन्द्र नतोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । मकवानपुरबाट एसईई परीक्षाको नियमित, ग्रेडबृद्धि र प्राविधिक तर्फ ६ हजार ३ सय ३३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदै छन् ।