गौतम बुद्ध रंगशाला निर्माणका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गर्ने 

हेटौंडा, बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार भरतपुर महानगरपालिका र बागमती सरकारको साझेदारीमा निर्माण भइरहेको उक्त रंगशाला निर्माणका लागि अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो । उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुरले ३० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयको सबलीकरणका लागि १० लाख रुपैयाँ अख्तियारी दिने निर्णय गरेको छ । यस्तै प्रदेश औद्योगिक तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ भने अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड, तामिल सञ्चालन कार्यविधि, प्रविधि हस्तान्तरण कार्यविधि, प्रदेश नीति तथा योजना आयोगको वार्षिक आयोजना छनौट कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक तर्जमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *