बालजागृतिमा वृहत सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम

हेटौंडा, हेटौंडा–२ मा रहेको बालाजागृति इङ्लिस सेकेण्डरी विद्यालयमा वृहत सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम आइतबारबाट विद्यालयको प्राङ्गणमा सुरु भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।

साना नानीबाबुहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल बिनोद सुवेदीले जानकारी दिए । ‘बालजागृतिको मुख्य लक्ष्य भनेकै अधिकतम बालबालिकालाई स्टेजसम्म उतारेर मनोबल बढाउने र उनीहरुको ‘कन्फिडेन्स’ बढाउने रहेको छ ।’ उनले भने –‘विद्यार्थीहरूले सिकेको सिप र प्रतिभालाई अवसर पनि प्रदान गर्दछौँ ।’ बालजागृति विद्यालयले अभिभावकसँग शुल्क मात्र नलिई त्यही अनुसार कार्य सम्पादन र मूल्याङ्कनमा अगाडी बढिरहेको रहेको उनको दावी रहेको थियो ।

बालजागृतिलाई जिल्लाकै नमूना विद्यालय बनाउने उनले उद्घोष गरे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ का सदस्य सुरज बर्तौलाले विद्यालयले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेमा जोड दिएका थिए । कार्यक्रममा वि.सं. २०८० सालको अन्तिम परीक्षाको नतिजामा कक्षा नर्सरी देखि यूकेजीसम्म प्रथम, दोस्रो र तेस्रो हासिल गर्नुभएका र वि.सं. २०८१ प्रथम त्रैमासिक परीक्षामा पूर्व प्राथमिक तहमा प्रथम, दोस्रो र तेस्रो हुनु भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । यसैगरी अतिरिक्त क्रियाकलापमा विजयी हुनुभएका विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ का सदस्य इन्द्रप्रसाद रिजाल, सुरज बर्तौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, विद्यालयका प्रिन्सिपल बिनोद सुवेदी, सहायक प्रिन्सिपल अमूल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले स्टेज प्रस्तुत गर्नुका साथै पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूले साङ्गीतिक नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयको वृहत सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम अन्तर्गत पौष २९ गते कक्षा १ देखि ३ सम्म, माघ २ गते कक्षा ४ र ५, माघ ३ कक्षा ६ देखि ९ सम्म र माघ ४ गते वृहत शैक्षिक प्रदर्शनी कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *