हेटौंडा, चार नम्वर वडा स्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जितेको छ । मंगलबार भएको फाइनल खेलमा ब्रम्हदिक एकेडेमीलाई ३–० को गोल अन्तरले पराजित गर्दै नवोदयले उपाधी चुमेको हो ।
नवोदयका तक्षक सिम्खडाले व्यक्तिगत तीन गोल गर्दै ‘ह्याट्रिक’ गर्न सफल भए । प्रतियोगितामा विजेता र उपविजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ५ गोल गर्न सफल भएका ब्रम्हदिकका अनुज कार्की उत्कृष्ट गोलकर्ता घोषित भए । ब्रम्हदिकबाट खेल खेलेकी सुजिता भोम्जनलाई आयोजकले सम्मान गरेको थियो । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलले शिक्षक तथा विद्यार्थीलाई लक्षित गरी विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए । चार नम्वर वडा कार्यालयको आयोजनामा यही चैत २३ र २४ गते जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।
हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन र ब्रम्हदिक एकेडेमीको सहव्यवस्थापन भएको प्रतियोगितामा नवोदय शिशु सदन, ब्रम्हदिक एकेडेमी, सत्यम जेभियर्स माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र आमसाई विद्यालयको सहभागिता रहेको थियो ।