हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

हेटौँडा, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ।

प्रयोगशालाको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले सुरक्षित र गुणस्तरीय खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै नयाँ प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक, विश्वसनीय र राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले प्रयोगशालाको प्राविधिक पक्षबारे जानकारी गराउँदै प्रारम्भिक चरणमै राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ प्रकारका भौतिक, रासायनिक तथा सूक्ष्मजैविक (माइक्रोबायोलोजिकल) परीक्षण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि बोर्डले २०७५ सालदेखि सामान्य उपकरणमार्फत पानी परीक्षण गर्दै आएको भए पनि अब आधुनिक उपकरणको प्रयोगसँगै परीक्षण नतिजा अझ बढी विश्वसनीय र मापदण्डअनुसार हुनेछन्।

प्रयोगशाला स्थापना तथा उपकरण खरिदका लागि ३० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बोलपत्र प्रक्रियामार्फत काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति तथा जडानको जिम्मा लिएको हो। कम्पनीले चार महिनाभित्र आवश्यक सम्पूर्ण उपकरण जडान गरिसकेको जनाएको छ। यसका अतिरिक्त प्रयोगशालाको पूर्वाधार निर्माण, फर्निचर फिटिङ, मार्बल जडान, विद्युत् कार्यलगायतमा १० लाख रुपैयाँ खर्च भएको छ भने आवश्यक केमिकल तथा रसायन खरिदमा २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको बोर्डले जनाएको छ। यसरी कुल लागत ३४ लाख ५० हजार रुपैयाँ पुगेको छ, जसमा संघीय सरकारबाट ११ लाख रुपैयाँ र बोर्डबाट २३ लाख ५० हजार रुपैयाँ व्यहोर्ने व्यवस्था गरिएको छ।

नयाँ प्रयोगशालाबाट हेटौँडा र मकवानपुर जिल्लामा मात्र सीमित नरही छिमेकी जिल्ला तथा मधेस प्रदेशलगायत क्षेत्रबाट आउने पानीका नमूनाहरूको समेत परीक्षण सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सार मगरले प्रयोगशालाको स्थापना नागरिक स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुर–चितवनका सब–इञ्जिनियर विष्णु ढुङ्गाना, बोर्ड सदस्यहरू, उपमहानगरपालिका वडा प्रतिनिधि, उद्योगी, पत्रकार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *