हेटौंडा, यही माघ २२ गतेदेखि थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगिता हुने भएको छ । थाहा नगरपालिकाको आयोजना तथा श्री ऋषेश्वर ११ फुटबल क्लवको व्यवस्थापनमा फुटबल प्रतियोगिता हुन लागेको हो ।
थाहा नगरपालिकाको इन्द्रायणी चौरमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मडेल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि माघ २० गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने ऋषेश्वर ११ फुटबल क्लवका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । यस वर्ष टिम दर्ताको लागि कुनै पनि शुल्क नलाग्ने उनले बताए । गत वर्ष प्रतियोगिताको प्रथम पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको थियो । जसमा कर कट्टी गरी पुरस्कार वितरण गरिएकोमा यसवर्ष करकट्टी नगरी प्रथम पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
गतवर्ष भएको फुटबल प्रतियोगिताको उपाधी थाहा–७ नम्बर वडाले जितेको थियो । प्रतियोगितामा वडा नम्बर १ लाई २–१ गोल अन्तरले पराजित गरी ७ ले उपाधि हासिल गरेको थियो । १२ वटा वडा रहेको थाहानगरमा गतवर्ष ११ वटा वडाले प्रतियोगितामा सहभागिता जनाएको थियो ।






