चार महिनापछि प्रदेश सभाको बैठक

हेटौंडा, बागमती प्रदेश सभाको बैठक चार महिनापछि आज बसेको छ । गत असोजमा बसेको प्रदेश सभा बैठक चार महिनापछि आज अपराह्नमा बसेको हो । आजबाट प्रदेश सभाको पन्ध्रौ अधिवेशन बैठक सुरु भएको प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । सभामुख पाठकले बैठक सुरु भएलगतै प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न विधेयकको प्रमाणीकरण, मन्त्रिपरिषद् विस्तार लगायतको बारेमा जानकारी गराएका थिए ।

ADVERTISEMENT

यस्तै, बैठकमा सभामुख पाठकले सभामुख र उपसभाख अपस्थित भएको अवस्थामा प्रदेश सभा बैठक संचालन गर्न पाँच जना प्रदेश सभाका सदस्यहरुलाई मनोनीत गरिएको जानकारी दिए । मनोनीत हुने सदस्यहरुमा क्रमशः उर्मिला नेपाल, भारती कुमारी पाठक, भुवन केसरी श्रेष्ठ, रमा आले मगर र लक्ष्मी घिमिरे रहेका छन् । सोही बैठकले उनीहरुको नाम सर्वसम्मत अनुमोदन गरेको सभामुख पाठकले घोषणा गरेका थिए । त्यसलगतै प्रदेश सभामा नेतृत्व गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले बैठकको शुभकामना दिँदै आफ्नो सरकार गठन भएयता प्रदेशको १३ वटै जिल्लामा क्रमशः विपद् व्यवस्थापनलाई सक्रिय तुल्याउँदै जनतालाई स्थानीय तहमार्फत् सेवा प्रभाव गर्ने कार्य गरिरहेको बताए । उनले इमान्दारीपूर्वक चालु आर्थिक वर्षको बजेटलाई ६६ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सदस्यहरुलाई विकास योजनाबाट दिइने बजेटलाई निष्पक्ष ढंगबाट दिइने व्यवस्था गरिएको उल्लेख गरे ।

यस्तै, सत्तापक्ष नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संविधानको मर्म र भावनालाई सबै राजनीतिक दलका नेतृत्वले आत्मासम्मानका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संघीयता राष्ट्रको आवश्यकता रहेकोले स्थानीय तहलाई जीवन्त तुल्याउन प्रदेश सरकारले समयानुकुल ऐन कानून ल्याउन लागिएको जानकारी दिए । साथै उनले प्रदेश प्रहरी संरचनालाई प्रदेश सरकारकै स्वामित्वमा ल्याउन प्रदेश सरकारले संघीय सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकारलाई अधिकार सम्पन्न गरी जनतालाई विश्वासमा लिएर उनीहरुको मानव अधिकारको संरक्षण, आर्थिक समृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोतसाधन परिचालन गरी कार्यान्वयन गर्नेतर्फ उन्मुख गराउन आग्रह गरे ।

ADVERTISEMENT

उक्त बैठकमा राप्रपा संसदीय दलका नेता उद्धव थापाले बहुसंख्यक सहकारी समस्याबाट पीडित नागरिकहरुलाई उनीहरुको आर्थिक रकम फिर्ता गर्ने र अपचलन कार्यमा संलग्न जो–कोहीलाई सरकारले निष्पक्ष भएर काम गर्नुपर्ने माग गरे ।
यसैगरी, बैठकमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण्रसाद शर्मा खनाल, नेमकिपा संसदीय दलका नेता सरेन्द्रराज गोरसाईँ र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यले प्रदेश सरकारले संघीय सरकारको सहकार्य र समन्वयबाट समस्याको रुपमा रहेको सहकारीका पीडित परिवारलाई न्यायोचित न्याय दिन्पर्ने बताए । प्रदेशमा सुशासन र भ्रष्टाचार नियन्त्रण प्रदेश सरकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रदेश सभाको अर्को बैठक यही माघ २३ गते बुधबार बिहान ११ बजे बस्ने गरी सभामुख पाठकले आजको बैठक स्थगित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *