हेटौंडा/जिल्ला खेलकुद विकास समिति मकवानपुरले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी माघ १० गतेभित्र सम्पन्न गराउन पालिकाहरुलाई निर्देशन दिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को पत्रअनुसार चालु आर्थिक वर्षमा संचाललन गरिने प्रतियोगिता माघ १० गतेभित्र सम्पन्न गर्न जिल्ला खेलकुद विकास समिति मकवानपुरले सबै पालिकालाई निर्देशन दिएको हो ।
पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएलगत्तै जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता माघ मसान्तसम्म सम्पन्न गराउनुपर्ने कार्य तालिका रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए । थाहा नगरपालिकाले भने प्रतियोगिता संचाललन गरेर खेलाडी छनौट गरिसकेको छ । प्रतियोगितामा महिला र पुरुष दुबैतर्फ भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्पका खेलहरु हुनेछन् ।







