कार्की र उप्रेतीलाई सामुदायिक सम्मान

हेटौंडा, मकवानपुरकै एकमात्र सगरमाथा आरोही विक्रम कार्की र अमर माविका प्रधानाध्यापक मालती उप्रेतीलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान २०८१ प्रदान गरेको छ । रेडियोको १५ औं वार्षिकोत्सवको समापनका क्रममा बकैया ४ का कार्की र हेटौंडा १ की उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो । कार्कीले सगरमाथासहित नेपालको ३० वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

उनी मकवानपुरकै एकमात्र सगरमाथा आरोही हुन् । यस्तै अमर माविको शैक्षिक स्तर सुधार गरी उत्कृष्ट महिला प्रधानाध्यापकको रुपमा स्थापित उप्रेतीलाई रेडियोले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरेका हुन् । सगरमाथा आरोही कार्कीले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको बताए । यस्तै रेडियोले उत्कृष्ट कर्मचारीको रुपमा प्राविधिक शाखा प्रमुख एनिस लुइँटेललाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरिएको थियो । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सञ्चार माध्यमको विकासका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका उनले प्रदेशको सञ्चार माध्यमको वृत्ति विकासका लागि सरकार सदैव तयार रहेको बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायत, हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान) का वरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईं, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेश बल लामा, बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य वीरेन्द्र लामा, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्कासहित हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ८ नम्बर वडा अध्यक्ष राम थापा, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल लगायतको आतिथ्यता रहेको थियो । रेडियोको वार्षिकोत्सव एवम् सहकारीको स्थापना दिवसको अवसरमा माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *