हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास तथा कार्यालयहरूमा गरिएको छापामाथि आपत्ति जनाउँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अवैध सम्पत्ति लुकाएको आशंकामा हेटौँडास्थित उनको घर तथा व्यवसायिक स्थल र काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालयहरूमा छापा मारेपछि मुख्यमन्त्री बानियाँले विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा उनले राज्यका जुनसुकै निकायले अनुरोध गरेमा आफू भौतिक रूपमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न तयार हुँदाहुँदै छापा मारिएकोप्रति असन्तुष्टि जनाएका छन्। “राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायराभित्र रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ,” उनले भनेका छन्।
उनले आफ्ना शुभेच्छुक तथा समर्थकहरूलाई चिन्तित नहुन आग्रह गर्दै सुशासन कायम गर्ने राज्यका हरेक प्रयासमा आफू सधैं सहकार्य गर्न तयार रहेको बताए।साथै, पछिल्लो समय विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति संकेत गर्दै उनले छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक प्रतिष्ठामा असर पुगेको महसुस भएको उल्लेख गरेका छन्।
“राजनीतिक र व्यावसायिक जीवनबारे हुने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु, तर छापामारीको शैलीले मेरो चरित्रमाथि आघात पुगेको अनुभूति भएको छ,” उनले भने। मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा खर्च कटौती, आर्थिक मितव्ययिता र बजेट पारदर्शितालाई प्राथमिकता दिँदै आएको पनि उल्लेख गरेका छन्। आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रममार्फत सुशासन प्रवर्द्धन गर्ने प्रयास निरन्तर रहेको उनले बताएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायमा आबद्ध थिए। संविधानसभा सदस्य निर्वाचित भई सार्वजनिक पद सम्हालेपछि उनले उक्त व्यवसायबाट अलग भएको बताएका छन्।
यता, विभाग स्रोतका अनुसार बानियाँको सम्पत्ति र कारोबारमा केही अस्वाभाविक गतिविधि देखिएपछि अनुसन्धान अघि बढाइएको हो। छापामार क्रममा उनका घर तथा कार्यालयबाट आवश्यक कागजात र प्रमाणहरू संकलन गरी मुचुल्कासहित सर्जिमिन गरिएको जनाइएको छ।






