हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा शुक्रबारबाट हेटौंडामा १७ औँ संस्करणको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजि रत्न बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
हेटौंडामा सञ्चालन हुने दुई दिने जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा जिल्लाका २२ वटा डोजाङबाट २ सय ५० जना खेलाडीले सहभागिता जनाएको अध्यक्ष बज्राचार्यले जानकारी दिए । पुरुषतर्फ जुनियर १८ केजी देखि सिनियरमा ६७ केजी तौल समूह र महिलातर्फ १७ केजी देखिबाट ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । महिला र पुरुष गरी २४ वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ । ‘खेलाडीको लागि एक लाख रुपैयाँ बिमा गरिएको छ । ’ उनले भने –‘जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा टिम प्रथम र दोस्रो हुनेले राष्ट्रिय खेलमा छनौट हुने छन् ।’
माघ २५ गते क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न गरी माघ २६ गते सेमिफाइनल र फाइनलका खेल सञ्चालन गरी पुरस्कार वितरण गरिने उनले बताए । प्रतियोगितामा टिम प्रथमलाई नगद १५ हजार, दोस्रोलाई १० हजार रुपैयाँ र तेस्रो हुनेलाई नगद ८ हजार रुपैयाँसहित शिल्ड र मेडल प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैया पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको लागि करिव ३ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रवक्ता एवम् हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, ४ नम्वर वडाध्यक्ष नवीन सिग्देल, ११ नम्वर वडाध्यक्ष जुना दाहाल, बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य संगित श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्ष माधव तिमल्सिना, कार्यालय प्रमुख माधव कोइराला, तेक्वान्दो संघका नगरका पूर्व अध्यक्ष चन्द्र शाहीलगायतको आतिथ्यता रहेको थियो ।







