हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जितेको छ । शनिबार भएको फाइनल खेलमा श्रमिक माध्यमिक विद्यालयलाई २–० को गोल अन्तरले पराजित गर्दै नवोदयले उपाधी चुमेको हो ।
नवोदयको तर्फबाट श्याम पराजुलीले व्यक्तिगत दुई गोल गरेका थिए । दोस्रो वडास्तरीय वृहत् खेलकुद प्रतियोगिता अन्तर्गत भएको शिक्षकस्तरीय फुटबल प्रतियोगितामा सत्यम जेभियर्सलाई ५–० को गोल अन्तरले पराजित गर्दै नवोदय फाइनल प्रवेश गरेको थियो भने हेटौंडा क्याम्पसलाई ट्राइबेकरमा पराजित गर्दै श्रमिक विद्यालय फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा हेटौंडा–४ भित्रका ३ वटा सामुदायिक विद्यालय, ३ वटा संस्थागत विद्यालय र हेटौंडा क्याम्पसको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विजयी भएको टिमलाई फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरी शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने शैक्षिक गुणस्तर सुधार समिति अध्यक्ष श्रीराम दहालले जानकारी दिए । गत वर्ष भएको शिक्षक फुटबल प्रतियोगिताको उपाधी पनि नवोदयले जितेको थियो । हेटौंडा–४ नम्वर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा ब्रह्मदिक् एकेडेमीको सहव्यवस्थापनमा शिक्षक फुटबल प्रतियोगिता भएको हो । शैक्षिक गुणस्तर सुधार समिति अध्यक्ष श्रीराम दहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति, मकवानपुरका पूर्व उपसभापति बद्रिप्रसाद लम्सालकाे प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहाललगायतको आतिथ्यता रहेको थियो ।







