हेटौँडा, शिवशक्ति महतोको शतकले मकवानपुर काठमाडौंमा जारी यु–१६ प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ।

सोमबार भएको खेलमा मकवानपुरले नुवाकोटलाई ३० रनले पराजित गर्दै प्रतियोगिताको शीर्षस्थान सुरक्षित गर्यो। पहिले ब्याटिङ गरेको मकवानपुरका लागि शिवशक्ति महतोले १०१ रनको शतकीय इनिङ्स खेल्दै टोलीलाई १९५ रनमा पुर्याए। उनको साथमा आशिक अधिकारीले ६४ रनको महत्वपूर्ण योगदान दिए।
१९६ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको नुवाकोटले अभि थपलिया (५३ रन) र आशिष गुप्ता (४६ रन) को उत्कृष्ट प्रदर्शनका बाबजुद ७ विकेट गुमाएर १६५ रनमै सीमित रह्यो। मकवानपुरका कप्तान रोहित ठाकुर र शिवशक्ति महतोले बलिङमा समेत समान ३–३ विकेट लिए।
अलराउण्डर महतो म्यान अफ द म्याच
ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेका महतो खेलको म्यान अफ द म्याच घोषित भए। मकवानपुरले प्रतियोगिताका चारवटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्षस्थानमा कब्जा जमाएको छ। मंगलबार हुने अन्तिम खेलमा मकवानपुर चितवनसँग प्रतिस्पर्धा गर्नेछ।






