हेटौंडा, काठमाडौंमा जारी बागमती प्रदेशस्तरीय प्रधानमन्त्री क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर फाइनल प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा काठमाडौंलाई ३ विकेटले पराजित गर्दै मकवानपुर फाइनल प्रवेश गरेको हो । शुरुमा ब्याटिङ गरेको काठमाडौंले ४७ ओभरमा अलआउट हुँदै २३१ रन बनाउन सफल भयो ।
काठमाडौंको लागि सोनु देवकोटाले ५२ रन, पृथु बास्कोटाले ५३ रन बनाउन सफल भयो । मकवानपुरको तर्फबाट रिजन ढकालले ३ विकेट, असिम श्रेष्ठ, साकार गजुरेल, पियुस शर्माले समान २ विकेट हात पारे भने बिशाल फुयाँलले १ विकेट लिन सफल भए । मकवानपुरले ४१ ओभरमै ७ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । मकवानपुरका लागि शुभ कंसाकारले ४० बलको सामना गर्दै १० चौका र ४ छक्का मद्दतले ७३ रन बनाउन सफल भए ।
यसैगरी मकवानपुरका क्याम्टेन सुमन सुनारले ५१ रन, सक्षम बास्कोटाले ३८ रन बनाउन सफल भए । काठमाडौँका प्रतिस जिसि र सोनु देवकोटाले समान २ विकेट लिए भने किरन बुढा मगर, पृथु बास्कोटा र उपेन्द्र खत्रीले समान १ विकेट लिन सफल भए । प्रतियोगितामा मकवानपुरका खेलाडी शुभ कंशाकार म्यान अफ द म्याच घोषित भए । फाल्गुन २२ गते हुने फाइनल प्रतियोगिताको लागि मकवानपुरले ललितपुरसँग सामना गर्ने छ ।







