हेटौंडा, १५ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका प्रथम भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हेटौंडाले १५ स्वर्ण १० रजत र ९ कास्यसहित हेटौंडा प्रथम भएको हो ।
प्रतियोगितामा १३ स्वर्ण ५ रजत र १० कास्यसहित बकैयाँ गाउँपालिका दोस्रो भयो । यसैगरी थाहा नगरपालिकाले १० स्वर्ण ९ रजत र ७ कास्यसहित तेस्रो भएको छ । १४ औँ संस्करणमा पनि हेटौंडा प्रथम, बकैयाँ दोस्रो र थाहा तेस्रो भएको थियो । १५ औँ संस्करणको प्रतियोगितामा बागमती गाउँपालिकाले ६ स्वर्ण १७ रजत र १७ कास्य, भीमफेदी गाउँपालिकाले ४ स्वर्ण ५ रजत र २ कास्य, कैलाश गाउँपालिकाले २ स्वर्ण ४ रजत र २ कास्य, मनहरी गाउँपालिकाले १ स्वर्ण १ रजत र १ कास्य जित्न सफल भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधी थाहा नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा राक्सिराङ गाउँपालिकालाई २५–१३ र २५–१३ को सोझो सेटले पराजित गर्दै थाहा विजयी भएको हो । यसैगरी महिला भलिबल प्रतियोगिताको उपाधी भीमफेदी गाउँपालिले जितेको छ । थाहा नगरपालिकालाई २५–१२ र २५–१८ को सोझो सेटले पराजित गर्दै भीमफेदी विजयी भएको हो ।

१५ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिका स्वर्ण पदक विहिन बनेको छ भने इन्द्रसरोवर गाउँपालिकाले सहभागी भएको थिएन । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सलआर्ट लगायतका खेलमा करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको थियो ।






