हेटौंडा, दशौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा यही फाल्गुन २२ गते देखी २६ गते सम्म हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा हुने प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन खेल साविक विजेता बानेश्वर फ्रेण्डसिप भेट्रान्स र वीरगञ्ज सिटीको बीचमा हुने भएको छ । प्रतियोगितामा बानेश्वर र वीरगञ्ज सिटीसहित एविसी भेट्रान्स, भुटनदेवी भेट्रान्स खेलकुद विकास समिति, फ्रिडम फाइटर, चितवन, सिमरा, नागस्वती, बगर भाइखलक, किङकम, बुटवल, बौद्ध, वीरगञ्ज र हेटौंडा भेट्रान्स गरी १५ टिमको सहभागिता रहेको हेटौंडा भेट्रान्स क्लवका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ गत वर्ष देखी ४५ वर्ष माथि उमेर समूहमा प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि ४५ वर्ष माथि उमेर समूह बिच प्रतियोगिता हुने उप्रेतीले बताए ।
प्रतियोगिताको विजेताले एकलाख ५० हजार ५५५ र उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।







