हेटौंडा, भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
आज सोमबार गाउँपालिकामा भएको आवद्धता कार्यक्रममा ९९ जना श्रमिकलाई कोषमा आवद्ध गराइएको हो। सिकर्मी, डकर्मी, कृषि मजदुर र सवारीसाधनमा काम गर्ने श्रमिकलाई पालिकाले कोषमा आबद्ध गराएको हो । पालिकाले गत वर्ष अनौपचारिक क्षेत्रका ९८ श्रमिकलाई कोषमा आबद्ध गराएको थियो ।
गाउँपालिका अध्यक्ष हिदम लामाले दिएको जानकारी अनुसार, अनौपचारिक क्षेत्रका श्रमिकको हीतका लागि पालिकाले उनीहरुलाई कोषमा आवद्ध गराइएको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषमा आवद्ध भएको प्रमाणपत्र हस्तान्तर गरिएको थियो । यसले अनौपचारिक क्षेत्रका श्रमिकहरुको हितमा महत्वपूर्ण योगदान पुर्याउने हुँदा अन्य पालिकाले पनि यस्ता सकारात्मक काम गर्नुपर्ने मुख्यमन्त्री लामाको भनाइ थियो ।
भीमफेदी गाउँपालिकाले हालसम्म १९७ जनालाई कोषमा आवद्ध गराइसकेको छ भने आउँदो आर्थिक वर्षबाट महिला स्वयम् सेवकहरुलाई पनि कोषमा आवद्ध गराउने योजना बनाइएको अध्यक्ष लामाले जानकारी दिए । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने भीमफेदी गाउँपालिका देशकै पहिलो गाउँपालिका हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुंवरका अनुसार, अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महंगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।
सामाजिक सुरक्षा योजनामा आवद्ध भएपछि श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाबाट सुविधा उपभोग गर्न सकिने कोषका निर्देशक उत्तमराज नेपालले बताए । भिमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । त्यस यता गाउँपालिका र कोषबीच निरन्तर सहकार्य हुँदै आएको छ । सो कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, एसपी विश्वराज खड्का, सशस्त्र प्रहरीका एसपी सन्तोष शाह लगायतकाको उपस्थिति रहेको थियो ।






