कैलाशमा पहिलो पटक एसईई परीक्षा केन्द्र

कैलाश, मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एईईको परीक्षा केन्द्र निर्धारण गरिएको छ । आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कैलाश ९ मा रहेको कालिका माध्यामिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएसँगै अब कैलाशमा अध्ययनरत विद्यार्थीले अन्य स्थानीय तहमा पुगेर परीक्षा दिनुपर्ने बाध्यता हटेको हो ।

ADVERTISEMENT

यसअघि पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर एसईई परीक्षा दिने गर्दथे । शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिति विद्यार्थीमा रहेकोमा विद्यार्थीको सहजताताको लागि गाउँपालिकाको पहलमा केन्द्र कायम गरिएको बताए ।

परीक्षा दिन आउने विद्यार्थीका लागि गाउँपालिकाले विद्यालयमै खाना र आवासको व्यवस्थासमेत गरिएको मुक्तानले बताए । कालिका माविका बाहेक गाउँपालिका भित्र रहेका पाँच माध्यमिक विद्यालयका विद्यार्थीहरुले सोही स्थानमा परीक्षा दिन पाउनेछन् । मंसिरमा ५ गते प्रधानाध्यापक बैठक बसेपश्चात मंसिर २६ गते गाउँ शिक्षा समितिको बैठक बसी गरेको निर्णय अनुरुप कालिका माविलाई केन्द्र तोक्ने गरी अघि बढेको अध्यक्ष मुक्तानले बताए ।

ADVERTISEMENT

कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् भने ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जनाले सहभागिता जनाउने गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए । कैलाशबाट दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना रहेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने अधिकारीले बताए । कालिका माविका विद्यार्थीले भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिनेछन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले सोमबार केन्द्र निर्धारण गरेको छ । यसवर्षबाट एउटा प्राविधिक विषयको केन्द्र र कैलाश गाउँपालिकामा एउटा केन्द्र थप भएसँगै मकवानपुरमा एसईईको केन्द्र २८ वटा पुगेको इकाई प्रमुख सुदीप गिरीले बताए । कैलाश गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण भएसँगै अब मकवानपुरका १० वटै पालिकामा परीक्षा केन्द्र कायम भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *