हेटौंडामा चाडपर्व लक्षित नागरिक सहायता कक्ष संचालन

हेटौंडा, चाडपर्वमा सम्भावित चोरी, ठगी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरण गर्ने उद्देश्यले हेटौंडा–१० बसपार्क क्षेत्रमा नागरिक सहायता कक्ष संचालनमा ल्याइएको छ।

ADVERTISEMENT

सहायता कक्ष सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्क, प्रहरी चौकी बसपार्क, माइती नेपाल मकवानपुर र हिमराइड्स मकवानपुरको सहकार्यमा स्थापना गरिएको हो। सहायता कक्ष उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का रहेका थिए भने कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा उपकेन्द्र बसपार्कका अध्यक्ष प्रदीप कँडेलले गरेका थिए। कार्यक्रममा वडा नं. १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ, वडा नं. १ का अध्यक्ष सविन न्यौपानेलगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले बसपार्क क्षेत्रमा चोरी र ठगीका घटना बारम्बार हुने भएकाले त्यसको न्यूनीकरणका लागि प्रत्येक वर्ष सहायता कक्ष सञ्चालन गर्दै आएको बताए। ‘नागरिकको सुरक्षालाई ध्यानमा राखी यो सहायता कक्ष स्थायी रूपमा बनाउने योजनासमेत छ,’ उनले जोड दिए।

प्रमुख अतिथि एसपी खड्काले चाडपर्व अवधिमा यात्रुहरूसँग अत्यधिक भाडा नलिने व्यवस्था मिलाउन यातायात व्यवसायी र सरोकारवाला निकायलाई आग्रह गरे। उनले यात्रुहरूले सहज र सुरक्षित रूपमा यात्रा गर्न पाउने वातावरण निर्माण आवश्यक रहेको बताए। ‘बसपार्कमा ट्राफिक प्रहरीको उपस्थिति नहुनु दुर्भाग्य हो,’ भन्दै उनले ट्राफिक प्रहरीको व्यवस्था अनिवार्य रहेको धारणा राखे।

त्यसैगरी, एसपी खड्काले आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै पत्रकारहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *