हेटौँडा, थाहा नगरपालिका ४ नम्बर वडा कार्यालय द्वारा आयोजना गरिएको जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य शिविरमा १ सय ३९ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ। वडा न ४ को आर्थिक बर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप शिविरको आयोजना गरिएको वडा अध्यक्ष नारायण लामाले जानकारी दिए।
बैशाख १६ र १७ गते दुई दिन चलेको शिविरमा दम,ब्लड प्रेसर र सुगरको रोग पहिचान भएको शिविरमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर जोनसन बिकले बताए। वडाको माथिल्लो भेगको दामनमा अवस्थित दामन शहरी स्वास्थ्य केन्द्रमा १६ गते ५३ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो भने १७ गते किरातेश्वर जेष्ठ नागरिक मिलनकेन्द्र किटेनीमा ८६ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो।
शिविरमा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टर सृजना गौचन,पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ज्ञानेन्द्र ठाकुर,डाक्टर जोनसन बिक,स्वास्थ्यकर्मी चिनियाँ लामाले स्वास्थ्य परिक्षण गरेका थिए। निशुल्क औषधि समेत बितरण गरिएको शिविरमा १७ जना जेष्ठ नागरिकमा जटिल किसिमको दम रोगी लाई बैशाख १९ गते शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र दोबाटोमा निशुल्क निमोनिया बिरुद्धको खोप लगाइने वडा न ४ का सचिव पाल्साङ लामाले बताए।







