हेटौंडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिभावकीय भूमिकामा राजसंस्था हुनुपर्ने लगायतका ४० बुँदे मागसहित प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीको केन्द्रीय निर्देशन बमोजिम राप्रपाका नेता कार्यकर्ताहरुले बुधबार मकवानपुरमा पनि ज्ञापनपत्र बुझाएका हुन् ।
राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राज्य हुनुपर्ने, प्रदेश संरचनाको खारेजी गर्दै स्थानीय र संघ सरकार मात्र व्यवस्था गर्नुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा एक व्यक्ति दुइ कार्यकाल भन्दा बढी बस्न नपाउने संवैधानिक व्यवस्था गर्नुपर्ने, जनप्रतिनिधि र आवश्यक भन्दा बढी सरकारी वेतनधारीको संख्यामा कटौती गर्नुपर्ने, संवैधानिक नियुक्तीमा राजनीतिक भागबण्डाको अन्त्य, सरकारी वेतनधारी को दलीय भ्रातृ संगठनको खारेज गर्नुपर्ने राप्रपाको माग छ ।
निशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि आवश्यक उपायको अवलम्बन गर्नुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि विज्ञसहितको आयोग गठन गर्नुपर्ने, सबै नेपालीलाई बीमाको पहुँचमा पु¥याउनुपर्ने माग रहेको राप्रपा बागमती प्रदेश सदस्य खुसी कार्कीले जानकारी दिइन् ।
२०६४ पछिका उच्च पदस्थ नेता, कर्मचारी र तीनका परिवारको सम्पति छानबीन गर्दै अवैध सम्पति जफत एवम् दोषीलाई कारबाही गर्नुपर्ने, नेपालमा भएका ठूला भ्रष्टाचारका काण्डको पुनः छानबीन हुनुपर्ने, सहकारीमा जनताको बचत हिनामिना गर्नेलाई कारबाही गर्नुुपर्ने ज्ञापनपत्रमा माग समेत गरिएको छ ।
राप्रपाले राष्ट्र र राज्यका रुपमा नेपालको यति तीव्र क्षयीकरण कहिल्यै नभएको दावी समेत गरेको छ । देशका हरेक प्रमुख अंगहरु भ्रष्ट, असक्षम र दुषित राजनीतिको शिकार भएको आरोप समेत लगाएको छ । राप्रपाको पार्टी कार्यालय हेटौंडाबाट ¥याली तथा नाराबाजीसहित प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।
र्यालीमा सहभागी राप्रपाका नेता कार्यकर्ताले हिन्दु राष्ट्र घोषणा हुनुपर्ने, राजसंस्था कायम गर्नुपर्ने लगायतका मागसहितको नारा लगाएका थिए । र्यालीलाई राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामबहादुर थोकर, रामहरि न्यौपाने, प्रदेश सचिव गुन्जनबहादुर न्यौपाने, प्रजातान्तिक महिला संगठनका केन्द्रीय सचिव सरस्वती थिङ लगायतको उपस्थिती रहेको थियो ।






