हेटौडा, हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपमा तेस्रो दिनको खेलबाट कठिन जित निकाल्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतबार गौरीटार रङ्गशालामा भएको प्रतियोगिता खेलमा रौतहट जिल्ला महिला फुटबल टिमलाई पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै पुलिस सेमिफाईनल प्रवेश गरेको हो । पुलिसको जितमा गोलरक्षक उषा नाथ नायक बनिन जसले रौतहटको खेलाडीले प्रहार गरेको २ वटा पेनाल्टी सेभ गरेकी थिईन । २ बल बचाएको उषा नाथ नै खेलको प्लेयर अफ द म्याच हुन सफल भईन ।
उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् । प्रतियोगिता अन्तर्गत सोमबार अन्तिम क्वाटरफाईनल एपिएफ क्लब काठमाण्डौ र बिरगंज युथ स्पोटर्स एकेडेमीकका बिच हुनेछ । खेल दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।






