नवोदय विद्यालयमा ‘नवोदय मुन’ आयोजना हुँदै

हेटौँडा, हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले यही जेठ १५ गतेदेखि १७ गतेसम्म पाचौँ संस्करणको ‘नवोदय नमुना संयुक्त राष्ट्र संघ (नवोदय मुन–२०८३)’ आयोजना गर्ने भएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले नवोदय मुनको बारेमा जानकारी गराएको हो ।

ADVERTISEMENT

विद्यालयले विद्यार्थीमा नेतृत्व विकास, व्यक्तित्व विकास, समालोचनात्मक सोच, वादविवाद क्षमता तथा अन्तर्राष्ट्रिय विषयप्रतिको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव वृष्टि जयसवालका अनुसार विद्यार्थीलाई गतिविधिमा आधारित शिक्षामार्फत आफ्ना विचार र धारणालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम बनाउने, सहकार्यको भावना विकास गर्ने तथा विश्वव्यापी मुद्दाबारे गहिरो अध्ययन र विश्लेषण गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

हरेक वर्ष आयोजना हुँदै आएको यो कार्यक्रम संयुक्त राष्ट्रसंघको वास्तविक कार्यशैलीलाई आधार मानेर सञ्चालन गरिन्छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै आफ्नो देशको पक्षबाट विश्वव्यापी मुद्दामा बहस, छलफल तथा समाधानका उपाय प्रस्तुत गर्नेछन् । नवोदय मुन अन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठनमा ‘डिजिटल युगमा श्रमको नैतिक अभ्यास र आर्थिक समानता प्रवर्द्धन’, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रममा ‘पर्यावरणीय सुशासन र दिगोपन सुनिश्चित गर्न विश्वव्यापी सहकार्य सुदृढीकरण’, संयुक्त राष्ट्र मानव अधिकार परिषदमा ‘युद्ध अपराध तथा मानवताविरुद्धका अपराधसम्बन्धी अन्तर्राष्ट्रिय मानवीय कानुन र जवाफदेहिता सुदृढीकरण’ तथा प्रतिनिधि सभामा ‘नेपालमा लोकतान्त्रिक अधिकारको सुरक्षाका लागि समुदायको नेतृत्वमा शान्ति र वातावरण संरक्षणको सुदृढीकरण’ विषयमा बहस हुनेछ ।

ADVERTISEMENT

तीन दिने कार्यक्रमअन्तर्गत दोस्रो दिन सहभागीहरूका लागि ‘सोसल नाइट’ तथा मनकामना डाँडा भ्रमण समेत आयोजना गरिएको विद्यालयले जनाएको छ । नवोदय मुन कार्यक्रममा आयोजक विद्यालयसहित हेटौँडा उपमहानगरपालिकाका ६ विद्यालय, चितवन, नवलपरासी, काठमाडौं, सर्लाही, कास्की र धरानलगायतका जिल्लाबाट पनि विद्यार्थीहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब २०० जना विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । जिल्लाभित्रका सहभागीका लागि २ हजार रुपैयाँ र जिल्लाबाहिरका लागि ६ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको विद्यालयले जनाएको छ । वि.सं. २०८२ को एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरू मुन कमिटीमा आबद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *