हेटौंडा, घरेलु मैदानमा भएको फुटबल प्रतियोगिताको दोस्रो उपाधी पनि मकवानपुरले चुमेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको दोस्रो खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी मकवानपुरले हात पारेको छ।
शनिबार हेटौंडाको पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा काठमाडौंलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मकवानपुरले स्वर्ण जितेको हो । पहिलो हाफको २ मिनेटमै १ गोलले पछि परेको मकवानपुरले दोस्रो हाफमा ‘कम ब्याक’ गर्दै गोल फर्काउन सफल भयो । दुवै टिमले निर्धारित समय १–१ को बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
मकवानपुरका लागि विकास लामा, सुवास पाख्रिन, सुजन गुरुब र प्रीतम स्याङबोले गोल गरे । काठमाडौंका लागि वाब गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो भने विवेक राईले प्रहार गरेको बल बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्यो । मकवानपुरका कप्तान प्रीतम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए । पहिलो खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल खेलमा पनि मकवानपुरले ललितपुरलाई ट्राइबेकरमा ३–० को गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको थियो ।







