हेटौंडा, मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको १४औँ स्थापना दिवसको अवसरमा हेटौंडा अस्पतालका विरामीहरुलाई फलफूल तथा पौष्टिक आहार वितरण गरिएको छ। सोमबार आयोजित एक कार्यक्रमका क्रममा अस्पतालमा भर्ना भएका दर्जनौं विरामीहरुलाई फलफूल वितरण गरिएको कार्यक्रम संयोजक नवराज चौलागाईंले जानकारी दिए।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षता तथा हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष छतेन्द्र आचार्य, प्रदेश अध्यक्ष एसिस रिजाल, एसोसिएसनका निवर्तमान अध्यक्ष नवराज चौलागाईं, पूर्व अध्यक्ष दिनेश लामा लगायतको उपस्थिति थियो।
एसोसिएसनले स्थापना दिवसकै अवसरमा आइतबार रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो, जसमा २१ जनाले रक्तदान गरेका थिए। साथै, शनिबार हेटौंडा–१, भैरवडाँडास्थित पाथिभरा मन्दिरलाई एक सेट डस्टबिन सहयोग गरिएको थियो।
यसै क्रममा, १६ गते शुक्रबारदेखि २५ गतेसम्म एसोसिएसनमा आवद्धता शुल्कमा विशेष छुट प्रदान गरिने अध्यक्ष न्यौपाने (सागर) ले बताए। उनका अनुसार, हेटौंडा उपमहानगर भित्रका व्यवसायीहरुलाई संस्था प्रवेश शुल्कमा ५० प्रतिशत छुट र अन्य स्थानीय तहका व्यवसायीहरुलाई शतप्रतिशत छुटको व्यवस्था गरिएको छ।







