निर्माण महोत्सवको तयारी पूरा, गृहमन्त्रीले उद्घाटन गर्ने

हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट हुन लागेको ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव उद्घाटनको अघिल्लो दिन सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै आज मंगलबारदेखि १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

ADVERTISEMENT

सोमबार आयोजक निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेलले महोत्सवको तयारी पुरा भएको र गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने बताए । १० वर्षपछि संघले दोस्रो संस्करणको रुपमा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ आयोजना गरिएको अध्यक्ष कंडेलले बताए । महोत्सवमा विभिन्न निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी, तथा उपभोक्ताका लागि तीन सय भन्दा बढी स्टल राखिएको उनले बताए । मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष प्रोत्साहन प्रदान गर्न स्टल भाडामा २५ देखी ५० प्रतिशत छुट दिएको बताउँदै एक सय भन्दा बढी स्थानीय स्टल रहेको बताए ।

हेटौँडा–१० टिसिएन चौरमा आयोजना हुने महोत्सवमा नेपालमै दोस्रो पटक फिस टनेलको प्रदर्शनी समेत हुने उनले बताए । महोत्सवमा निर्माण सामग्री, घरेलु उद्योग, महिला उद्यमी, कृषि उपज, नवीनतम निर्माण उपकरणहरु, जुत्ता चप्पल कपडा, होटल लगायत धार्मिक स्वास्थ्यका स्टलहरु रहने जनाइएको छ ।

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रस्तुती रहनुका साथै ‘हेटौँडा आइडल’ प्रतियोगिता हुने अध्यक्ष कंडेलले बताए । आइडलमा १६ जना छनौट भएका छन् । महोत्सव अवधिभर ६ करोड बराबर कारोबार हुने अनुमान आयोजकको रहेको छ । महोत्सवलाई भव्य बनाउन २५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ समिति गठन भएको संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईले बताए । महोत्सवको प्रवेश शुल्क विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७५ रुपैयाँ तोकिएको उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा हुन लागेको महोत्सव औद्योगिक शान्ति नेपालसँगको सहकार्यमा गरिन लागेको हो । संघका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाल, निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका पूर्व सहकोषाध्यक्ष राजेश भेटवाल, महासंघ सचिव राजेन्द्रप्रसाद चोलागाई लगायतको उपस्थिती रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *